कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक २६ गते साँझ करिब ७ बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना र स्कुटरमा सवार दुई जना गरी पाँच जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो।
घाइतेमध्ये स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी ३५ वर्षीया सुशिला बमलाई थप उपचारका लागि कात्तिक २७ गते बिहान २ बजेर २६ मिनेटमा मायामेट्रो अस्पताल धनगढी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक बमको शव मायामेट्रो अस्पतालमै रहेको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।