अन्तराष्ट्रिय

उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु– राष्ट्रपति ट्रम्प

बेइजिङ, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उहाँले भन्नुभयो– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन । सम्वाददाताहरुले उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ ।
राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गर्नुभयो । उहाँले भन्नुभयो– म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो । दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै उहाँले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको पनि उहाँले बताउनुभयो ।
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् । पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गर्नुभएको छ ।