अन्तराष्ट्रिय

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

सोल, २० वैशाख । प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनामा सातले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक अस्त्र बिहीन बनाउन सम्भव भएको बताएका थिए ।
रियलमिटर नाम दिइएको उक्त सर्वेक्षणमा सहभागीमध्येका ७१.४ प्रतिशतले यस्तो बताएका जनाइएको छ । दक्षिण कोरियाका ५०१ जना नागरिकलाई सो सर्वेक्षणमा संलग्न गराइएको उक्त सर्वेक्षण संस्थाले जनाएको छ । उक्त सर्वेक्षणको परिणाम बुधबार सार्वजनिक गरिएको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका करिब ९० प्रतिशत सदस्यहरुले पनि कोरियाली आणविक अस्त्रबिहीन कोरियाली प्रायद्वीप सम्भव रहेको बताएका थिए ।
त्यसैगरी यहाँको विपक्षी दल लिबर्टी कोरिया पार्टीका करिब आधाजति सदस्यहरुले भने आणविक अस्त्रबिहीन कोरिया सम्भव नरहेको बताएका छन् । गएको शुक्रबार अर्थात् अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच शान्तिवार्ता र सम्झौता भएको थियो । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी आगामी दिनमा एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने जनाएका थिए । सो सम्झौताको कार्यान्वयन पनि सुरु भइसकेको छ ।
गत शुक्रबारको सो सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने संयन्त्र हटाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयले सो कुराको जानकारी दिएको छ । कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले मिलनको आशा पनि थपेको बताइन्छ । पश्चिमा लगायतका विश्वका सञ्चारमाध्यमहरुले कोरिया युद्धपछि पहिलो पटक दुई देशका उच्च नेताहरुबीच भएको हालैको यो दुर्लभ भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने र दुई कोरियाको एकता हुन पनि सक्ने सम्भावना रहेको बताइरहेका छन् ।
गएको शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ताले कोरियाली जनतालाई मात्र नभएर दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि शान्तिको लागि राहत प्राप्त हुने सङ्केत देखिएको बताइएको छ । उत्तर कोरियाले अमेरिका र जापानसँग पनि वार्ता गर्ने जनाएको छ । गतवर्षमात्र अमेरिका र उत्तर कोरियाबीच ठूलो वाकयुद्ध चलेको थियो । त्यसपछि भने उत्तर कोरिया नरम बन्दै गएको छ । उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौँं तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुँदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो । -सिन्ह्वा