अन्तराष्ट्रिय

पाकिस्तानमा तातोहावाका कारण ६५ को मृत्यु

इस्लामाबाद, ८ जेठ  । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ ।
उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मङ्गलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडारुपमा तातो हावा चलेको छ । यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् । इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु रहेका छन् । यस प्रकारका ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा छ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ ।
यद्यपी स्वास्थ्य अधिकारीले भने इदही समूहले दिएको तातो हावाबाट ज्यान गुमाएका भनिएका ती व्यक्तिको मृत्युको कारण पत्ता लागि नसकेको जनाएको छन् । पाकिस्तानको मौसम विज्ञान विभागले कराँचीमा एक हप्तासम्म ४३ वा ४४ डिग्री सेल्सियससम्म तापक्रम रहने चेतावनी दिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो । पाकिस्तानका यी नगरमा यस समयमा प्रायःतातो हावा चल्ने गर्दछ । अत्यधिक गर्मीका कारण चल्ने यो तातो हावाबाट यी स्थानमा वर्षेनी नागरिकको मृत्यु हुने गरेको छ ।-सिन्ह्वा