अन्तराष्ट्रिय

दक्षिण कोरियाली र अन्य केही देशका पत्रकार उत्तर कोरिया जाँदै 

सोल, ९ जेठ ।  दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन् । उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया जान लागेको बताएका छन् ।
अघिल्लो बुधबार बस्ने भनिएको यी दुई देशको बैठक बस्न नसकिरहेका बेला उत्तर कोरियाले भने दक्षिण कोरियाली पत्रकारलाई समाचारका लागि नै आमन्त्रण गरेको जनाइएको छ । हाल सोलमा जारी रहेको भनिएको दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि पछिल्लो समयमा आएर ठप्प भएका छन् । दक्षिण कोरियाको सरकारका प्रवक्ताले दिएको जानकारी अनुसार ती आठजना पत्रकार उत्तर कोरिया सरकारको आमन्त्रणमा त्यहाँ जान लागेका हुन् ।
उनीहरु बुधबारै मध्यमन्ह त्यसतर्फ जानेछन् । प्राप्त समाचारअनुसार ती पत्रकारले दक्षिण कोरियाले नष्ट गर्न लागेको भनिएको आणविक क्षेप्यास्त्र उत्पादन तथा परीक्षणस्थलको अवलोकन गरी सो नष्ट गरिएको पक्रियाको बारेमा समाचार संकलन र सम्प्रेषण गर्नेछन् । यो प्रक्रियाको समाचार सङ्कलनका लागि दक्षिण कोरियाली पत्रकारलाई आफ्नो देशमा अनुमति रहेको कुरा उत्तर कोरियाले अन्तिम समयमा आएर बताएको थियो । यसअघि उसले उक्त आणविक उत्पादन नष्ट गरिने प्रक्रियाको समाचार सङ्कलनका लागि गत महिना नै उनीहरुलाई आमन्त्रण गरेको थियो ।
त्यसैगरी उत्तर कोरियाले चीन, अमेरिका, रुस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार सङ्कलन र सम्प्रेषणको लागि बोलाएको छ । तर ती देशबाट के कति पत्रकार त्यहाँ जाँदैछन् भन्ने बारेमा भने केही बताइएको छैन । तर सोलबाट प्राप्त समाचारमा ती पत्रकार बुधबार नै प्योङ्याङ् पुग्नेछन् । गत अप्रिलमा भएको दुई कोरियाको एक ऐतिहासिक शान्ति सम्झौताबमोजिम उत्तर कोरियाले आणविक उत्पादन तथा परीक्षणको काम नगर्ने र ती उत्पादन र परीक्षणस्थल नै नष्ट गर्ने जनाएको थियो ।
यसरी नष्ट गर्ने प्रक्रियालाई पारदर्शी बनाउने र ती नष्टगर्ने कार्यक्रममा विदेशी पत्रकारलाई पनि बोलाइने सार्वजनिक जानकारी उत्तर कोरियाले गत महिनामात्र सार्वजनिक गरेको थियो । दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ ।
तर पछिल्ला केही दिनयता उत्तर कोरियाले सोलमा जारी सैन्य अभ्यास नरोक्ने हो भने अमेरिकासँग पनि वार्तामा नबस्ने बताएको थियो । को यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नोतर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ । उत्तर कोरियाले यी आणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्न लागेको कार्यको विश्वव्यापीरुपमा सकारात्मक काम भनी प्रसंशा गरिएको बताइएको छ ।-सिन्ह्वा