अन्तराष्ट्रिय

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

वासिङ्टन, १० जेठ ।  चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । अमेरिकाको वासिङ्टनमा अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँगको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री वाङले सो धारणा राख्नुभएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ अमेरिका पुग्नुभएको छ । उहाँले बुधबार आफ्ना अमेरिकी समकक्षीयसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले उक्त वार्ताको सफलताका लागि चीनले जे गर्नुपर्छ त्यो गर्नेछ भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा शिखर बैठक र वार्ता हुने भनिएको छ ।
तर उक्त मितिमा हुने भनिएको सो शिखर बैठक सोही दिनमा नहुन पनि सक्ने आशङ्का मङ्गलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको थियो । उहाँले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएको एक दिनपछि बुधबार भने चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरेपनि वर्ता भने हुने बताउनुभएको छ । उहाँले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेकोले उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको सो प्रतिक्रियाको जवाफमा चिनियाँ विदेशमन्त्री वाङले भन्नुभएको छ– उक्त बैठक निर्धारित समयमै बसोस र दुई देशकाबीचमा हुन लागेको यस शिखर बैठक सफल पनि होस् भन्ने चीनको चाहना छ । उक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले भन्नुभयो– हामीलाई विश्वास छ कि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम नै यस समस्याको समाधानका लागि सक्षम हुनुहुन्छ र आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि उहाँहरुले आफैले गर्न सक्नुहुनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले त्यस विषयमा गर्ने निर्णय नै विश्वका लागि एउटा राम्रो र शुभ समाचार हुने अपेक्षा पनि चीनले राखेको सो अवसरमा विदेशमन्त्री ले बताउनुभएको थियो । तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ ।
सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्तामा नबस्ने चेतावनी दिएको थियो । तर राष्ट्रपति ट्रम्पले भने आफूले उत्तर कोरियाली नेता किमलाई शान्तिका क्षेत्रमा गम्भीर रहेको पाएको भन्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उहाँ इच्छुक रहेको पनि बताउनुभएको थियो ।
उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका अतिरिक्त चिनियाँ विदेशमन्त्री पनि अमेरिका पुग्नुभएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तयगर्ने पनि ठानिएको समाचारमा जनाइएको छ ।
अमेरिकी भनाइप्रति कोरियाको आपत्ति : यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ । उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाउनुभएको हो । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उहाँको भनाई छ । उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको, दक्षिण कोरियासँग बृहत शान्ति सम्झौता गरेको तर अमेरिकाले आफ्नो सदासयतालाई कमजोरीका रुपमा लिएको बताउनुभयो ।
दक्षिण कोरियाद्वारा वार्ताको अर्काे मिति तोक्ने तयारी : त्यसैगरी प्राप्त एक अर्काे समाचारमा जनाइएअनुसार दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्न लागेको बताइएको छ । दक्षिण कोरिया र उत्तरका बीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो ।
दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै यस सैन्य अभ्यास नरोक्दासम्म अर्काे बैठक नबसिने भन्दै उत्तर कोरियाले सो अडान लिएको थियो । तर पनि वार्ताबाट पछि नहट्न दक्षिण कोरियाको जोड रहेको छ । दक्षिण कोरियाले अर्काे वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ ।-रासस/एएफपी