अन्तराष्ट्रिय

म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

याङ्गोन, १० जेठ ।  उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापित हुने क्रम पनि नरोकिएको अधिकारीहरुको भनाई छ । विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ । सेनाले ती उत्तरी क्षेत्रहरुमा अहिले पनि धरपकड जारी नै राखेको र यसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण स्थानीय नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा केही महिनायता देखि नै सानातिना झडपहरु भएका छन् र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका छन् भन्नुभयो । झडपका घटनाका कारण विस्थापित करिब १६ हजार नागरिक र आन्तरिकरूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ८० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म करिब एक लाख सर्वसाधारण विस्थापित भएका छन् ।
स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् । कट्सले पछिल्ला झडपका घटनापछि उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्ने अवस्था रहेको र उनीहरु अहिले नै घर फर्किने अवस्था पनि नरहेको धारणा राख्नुभयो । त्यसैगरी राष्ट्रसंघीय आयोग ओसिएचएले प्राप्त प्रतिवेदनमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन । यसबारे सरकारले भने केही बताएको छैन ।
उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् । तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् । त्यस्तै म्यानमारबाटै जबर्जस्ती निकालिएर बङ्गलादेशमा शरणार्थीका रुपमा बस्न बाध्य भएका यहाँको अल्पसंख्यक रोहिंग्या जातिका करिब सात लाख नागरिक पनि अहिलेसम्म स्वदेश फर्किन पाएका छैनन् ।-एएफपी