अन्तराष्ट्रिय

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने, आफ्नो पार्टीले जित्ने इमरानको विश्वास 

इस्लामावाद, १३ जेठ ।  पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गर्नुभएको हो । पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म तीन दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो । आमनिर्वाचन तोकिएकै दिन चार प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरुले जनाएका छन् । वर्तमान सरकारको कार्यकाल यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्ण रुपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलहरुले पनि निर्वाचनको प्रचार प्रसार सुरु गरेका छन् । यसैबीच प्राप्त अर्काे एक समाचारमा पाकिस्तानका पूर्व क्रिकेट स्टर समेत रहेका एक पार्टीका नेता इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मुलुकमा भइरहेको भ्रष्टाचार र बेथितीका विरुद्धमा आफ्नो पार्टी उभिएकाले जनताले विजयी गराउने उहाँले आइतबार बताउनुभयो । निर्वाचनले अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफका साथैअरु पनि मुलुकका लागि तनावको विषय बनेका नेताहरुलाई पनि पाखा लगाउने उहाँको भनाई छ । आफूले अरु दलले भन्दा पहिले नै प्रचारप्रसार अभियान सुरु गरेको जानकारी पनि उहाँले आइतबार दिनुभएको छ । -एएफपी