अन्तराष्ट्रिय

पत्रकार बुखारीको श्रीनगरमा गोलीहानी हत्या :  शवयात्रामा हजारौँको सहभागिता

भारत, असार । भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ । काश्मिरका पत्रकार सुजत बुखारीको बिहीबार साँझ श्रीनगरमै गोलीहानी हत्या गरिएको थियो । उहाँको हत्या आतङ्ककारीले गरेको अधिाकारीहरुले जनाएका छन् । उहाँ श्रीनगरका एकजना वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । अङ्ग्रेजी भाषाको पत्रिका राइजिङ काश्मिर दैनिकका सम्पादक बुखारीको हत्याको कारण खुलेको छैन । कुनै समूहले सो हत्याको जिम्मेवारी पनि लिएको छैन ।
उहाँलाई बिहीबार साँझ आफ्ना दुई जना सुरक्षा गार्डसहित रहेको बेला गोली हानेका थिए । गोली लागेका उहाँलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । गोली लागेका उहाँका दुई जना सुरक्षा गार्डको पनि बाटोमै निधन भएको थियो । उहाँको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए । उहाँ काश्मिरमा शान्तिका लागि पहल गर्ने एकजना व्यक्ति हुनुहुन्थ्यो । तर अतिवादीहरुले उहाँको भूमिकाको आलोचना गर्ने गर्दथे ।
उहाँलाई बिगतमा पनि पटक पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उहाँलाई स्थानीय सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो । उहाँले गत वर्ष दुबइमा भारतीय सरकारको नै प्रतिनिधित्व गरेर काश्मिरका विषयमा पाकिस्तानसँग वार्ता गर्नुभएको थियो । उहाँ ५० वर्षको हुनुहुन्थ्यो । उहाँको निधनको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् ।-एएफपी