Home » Sample Page » लाओसमा १३१ जना अझै बेपत्ता रहेको प्रधानमन्त्रीको भनाई
अन्तराष्ट्रिय

लाओसमा १३१ जना अझै बेपत्ता रहेको प्रधानमन्त्रीको भनाई

लाओस। लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्कीएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताउनुभएको छ । देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर बगाएका वा बेपत्ता भएकामध्ये १३१ जनाको अवस्था अझै थाहा पाउन नसकिएको उहाँले बुधबार बताउनुभएको हो ।

निर्माणाधीन अवस्थामा रहेको छेपिन छे नाम नोय हाइड्रो पावरको बाँध यसै हप्ताको शुरुमा भत्कीएको थियो । बाँध भत्कीएपछि सानाम्याक्सी जिल्लाका सात वटा गाउँ प्रभावित भएको र सयौँ विस्थापित भएको अधिकारीहरूले बताएका छन् । घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म एकिन नभए पनि लाओसको समाचार संस्थाले २६ जनाको मृत्यु भएको पुष्टी भएको जनाएको छ ।

प्रधानमन्त्री सिसौलिथले विस्थापित भएकाहरूलाई छानासहितको बासस्थानमा व्यवस्थापनको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस घटनाका कारण घरबारबिहीन हुनेहरूको संख्या कम्तीमा तीन हजार ६० पुगेको छ भने १३१ जना अझै बेपत्ता रहेका छन् ।”
बर्षापछि बाँध भत्कीएर आएको बाढी अझै पनि आइरहेको र अरू पाँचदेखि छ गाउँका बासिन्दा अझै पनि प्रभावित भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । घटनाबाट पीडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कम्बोडियाको सीमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्कीएको अधिकारीहरूले जनाएका छन् ।