अन्तराष्ट्रिय

संयुक्त सडक निरीक्षणको समय तय गर्न वार्ता 

सोल । दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्तरुपमा सडक निरीक्षण गर्ने समय तय गर्न वार्ता हुने भएको छ । कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा सडक निरीक्षणका लागि दुई कोरियाबीच समय तालिका तय गर्न वार्ता हुने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । सोलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता बाइक ताए हाउनले दुई कोरियाको सीमा क्षेत्रमा संयुक्त सडक सर्वेक्षणका लागि दक्षिण कोरियाले उत्तर कोरियासँग सरसल्लाह गर्दै आएको र पत्र आदानप्रदान हुँदै आएको बताउनुभयो ।

उत्तर कोरियाको सीमा शहर काएसोङमा संयुक्तरुपमा सडक निरीक्षण गर्नका लागि समय तालिका बनाउन लागिएको समाचारमा जनाइएको छ । गत अगस्तमा उत्तर कोरियाको राजधानी शहर प्योङ्गयाङ्गमा भएको वार्तामा दुवै कोरिया यस विषयमा सहमत भएका थिए । यद्यपि दक्षिण कोरियाको गोसेओङ उत्तर कोरियाको वोन्सन सडकको संयुक्त सर्वेक्षण कार्य शुरु भइसकेको जनाएको छ । हालै मात्र दुई कोरियाले १८ दिने संयुक्त रेलमार्ग सर्वेक्षण शुरु गरिसकेको समाचार सार्वजनिक भएको थियो । सो रेलमार्ग सर्वेक्षण पश्चिम र पूर्वी कोरियाली प्रायद्वीपमा रहेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाली नेता किम जोङ उनको सहभागितामा पान्मुन्जोममा जारी गरिएको घोषणा पत्रमा रेल र सडक प्रणाली आधुनिकीकरण गर्ने विषयमा सम्झौता भएको थियो । गत अप्रिलमा भएको उहाँहरुको पहिलो वार्तापछि सीमा इलाकामा रहेकोे सडक प्रणाली आधुनिकीकरण गर्ने विषयमा सम्झौता भएको थियो । दुई कोरियाबीच भएको यस सम्झौतालाई लागू गर्ने दक्षिण कोरियाले तयारी गरिरेहको एकीकरण मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ । – रासस/सिन्ह्वा