अन्तराष्ट्रिय

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन, १०५ जनाको मृत्यु पछि देशभर कर्फ्यू

ढाका, साउन ५ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सरकारले शुक्रबार बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । उनले सरकारी जागिरमा आरक्षण प्रणालीमा सुधारको माग गर्दै आन्दोलनका क्रममा केही दिनसम्म चलेको हिंसापछि शान्ति कायम गर्न सेना परिचालन गर्न निर्देशन दिएकी छन् । बंगलादेशको सत्तारुढ अवामी लिग पार्टीका महासचिव ओबैदुल कादरले प्रधानमन्त्री हसिनाका यी निर्णयबारे जानकारी दिएका छन् । प्रहरी र सुरक्षा अधिकारीहरूले प्रदर्शनकारीहरूमाथि गोली चलाए र राजधानीमा सबै जमघटमा प्रतिबन्ध लगाएपछि यो घोषणा आएको हो । नागरिक प्रशासनलाई सुव्यवस्था कायम गर्न सघाउन सेना परिचालन गरिएको कादरले बताइएको छ ।

ढाका र अन्य सहरका विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ मा पाकिस्तानसँग देशको स्वतन्त्रताका लागि लडेका युद्ध नायकका आफन्तहरूलाई सार्वजनिक क्षेत्रको जागिरमा आरक्षण दिने व्यवस्थाको विरुद्धमा केही दिनदेखि जुलुस निकाल्दै आएका छन् । आरक्षण प्रणालीमा सुधारको माग गर्दै विद्यार्थी आन्दोलनका क्रममा राजधानी ढाका र अन्यत्र बिहीबार हिंसा भड्कँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २ हजार ५०० भन्दा बढी घाइते भएका छन् ।

बंगलादेशमा जारी विरोध प्रदर्शनका बीच शुक्रबार प्रहरी र सुरक्षा अधिकारीहरूले प्रदर्शनकारीहरूमाथि गोली चलाएका छन् र अश्रुग्यास प्रहार गरेका छन् । हिंसात्मक प्रदर्शनका बीच बंगलादेशका सबै विश्वविद्यालय, इन्टरनेट र मोबाइल डाटा सेवामा प्रतिबन्ध लगाइएको छ, सरकारी टेलिकम कम्पनीको डाटा सेन्टरमा आक्रमण भएको छ भने इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । राजधानी ढाका र अन्य केही स्थानमा केही साताअघि सुरु भएको विरोध प्रदर्शन सोमबारदेखि तीव्र भएको थियो । यी प्रदर्शनहरू बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका लागि सबैभन्दा ठूलो चुनौती हुन् । जनवरीमा भएको निर्वाचनमा उनी लगातार चौथो पटक विजयी भएका थिए । प्रमुख प्रतिपक्षी दलले निर्वाचन बहिष्कार गरेका छन् ।