अन्तराष्ट्रिय

इरानको राजधानी तेहरानमा विश्वव्यापी आतंकवादी घोषणा गरिएका हमास नेता इस्माइल हानियाको हत्या

तेहरान, १६ साउन । इजरायल–हमास युद्धमा एउटा ठूलो टर्निङ प्वाइन्ट आएको छ । इरानले हमास नेता इस्माइल हानियाको तेहरानमा हत्या भएको घोषणा गरेको छ । ६२ वर्षीय इस्माइल हानिया इरानका नवनियुक्त राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा सहभागी हुन गएका थिए । इरानले यसका लागि इजरायललाई दोष दिएको छ । यसअघि अप्रिलमा इजरायली हवाई आक्रमणमा इस्माइल हानियाका तीन छोराछोरी र चार नातिनातिना पनि मारिएका थिए । यति मात्र होइन, गत महिना हानियाकी बहिनीको पनि हत्या भएको थियो ।

इस्माइल हनिया लामो समयसम्म हमासका राजनीतिक नेता थिए । गत नोभेम्बरमा गाजामा रहेको इस्माइल हानियाको घर पनि इजरायलले उडाएको थियो । इजरायलले हनियाको घर आतंकवादी घटनाका लागि प्रयोग भइरहेको दाबी गरेको छ । इस्माइल हानिया प्रायः कतारमा बस्थे, तर हमासका नेताहरू प्रायः त्यहाँ उनको घरमा भेला हुन्थे । इस्माइल हानियाको जन्म गाजा शहर नजिकैको शरणार्थी शिविरमा भएको थियो । हानिया सन् १९८० को दशकमा पहिलो इन्टिफादापछि हमासमा सामेल भएका थिए । हमासको बल बढ्दै जाँदा हानिया पनि अगाडि बढ्दै गए । उनलाई सन् २००४ मा गोप्य ‘सामूहिक नेतृत्व’को हिस्सा बनाइएको थियो । उनी सन् २००६ मा प्यालेस्टिनी प्राधिकरणले प्रधानमन्त्री नियुक्त भएका थिए । २०१७ मा, हानिया हमासको प्रमुख बने र २०१७ मा, अमेरिकाले विशेष गरी उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो ।

विगतका वर्षहरूमा, हानिया धेरै यस्ता शान्ति वार्ताहरूमा संलग्न थिए जसमा विश्व नेताहरू संलग्न थिए । जसमा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर, कतारका अमिर र चिनियाँ कूटनीतिज्ञ वाङ केजियान रहेका छन् । कतारमा रहँदा इस्माइल हनियाले आफ्नो मृत्युले युद्धविराम र बन्धक संकट सम्बन्धी जारी वार्तामा कुनै असर नपर्ने बताएका थिए । मेरा सन्तानलाई मारेर हमासले आफ्ना मागमा झुक्छ भन्ने सोच्नेहरू भ्रममा रहेको उनले बताएका थिए । यसैबीच हानियाको हत्यापछि इजरायली सेनाले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।