समाचार

पार्टी एकता असाधारण घटना– अध्यक्ष दाहाल

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकताले मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो । दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उहाँले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको छ भन्नुभयो ।
आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।” इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उहाँको भनाइ थियो ।
विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उहाँले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गर्नुभयो । विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै उहाँले नयाँ सरकार बनेको अनुभूति दिइने स्पष्ट पार्नुभयो ।
सरकारको सबै तहलाई सन्तुलनमा राखेर जनताको अपेक्षा पूरा गर्ने तथा गराउने तर्फ आफूहरु प्रतिबद्ध भएर लाग्ने समेत उहाँको भनाइ थियो । दुई पार्टीको एकता पछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको हो । बैठकले संसदीय दलको प्रमुख नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारी चयन गर्ने र संसदीय समिति समेत गठन गर्ने कार्यसूची रहेको छ ।