समाचार

पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छ : दाहाल

काठमाडौँ, असार ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको र यसलाई ठीक ढंगले आत्मसात् गरेर समाजवादको नयाँ आधार तयार गर्न सक्नुपर्ने बताउनुभयो ।
“एक्काइसौँ शताब्दी सूचनाको शताब्दी हो । सूचना प्रविधिमा भएको क्रान्तिलाई ठीक ढंगले बुभ्mन र जनतालाई ठीक ढंगले सञ्चार क्षेत्रले सम्प्रेषणको भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो, “एकता, बहस, संघर्ष, रुपान्तरणसहित नयाँ आधारको एकताबाट हाम्रो राजनीतिक कार्यदिशा र विचारलाई परिष्कार गरी समाजवादको लक्ष्यमा पुग्न एकमत भएका हौँ । अब हामीले पार्टीको बहुकेन्द्र नभई बलियो हेडक्वार्टर बनाउनुपर्छ ।” उहाँले शक्ति सन्तुलनको आजको अवस्थालाई हेर्दा समृद्धि हुँदै समाजवादको आधार गर्ने अहिलेको प्राथमिकता रहेकाले यही विचारका आधारमा संगठनको एकता गर्न आग्रह गर्नुभयो । सत्तामा गएपछि जनताको सेवक नभई मालिक जस्तो ठान्ने प्रवृत्तिका कारण पूर्वी युरोप र सोभियत सङ्घको कम्युनिष्ट सत्ता ढलेको उदाहरणबाट सिकेर आलोचनात्मक चेतका साथ जनतासँग जीवन्तरुपमा जोडिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।