धर्म/संस्कृति

हुम्लाका ठकुरी बस्तीमा धुमधाम मनाइँदै गौरा पर्व 

हुम्ला । सुदूरपश्चिममा विशेष रूपमा मनाइने गौरा पर्वले धार्मिक महत्व बोकेको छ । पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन गरिएको व्रतको फलस्वरूप उनको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ ।

हुम्लाको नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकामा बसोवास गर्दै आएका ठकुरीहरूले धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा बुधबार ‘गौरा’ भित्र्याइँदै छ ।

व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका-७ का मन्दिर सिंहले जानकारी दिए । घर आसपासका खेतमा गई सामूहिक रूपमा महिलाहरूले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहको भनाइ छ ।

लोग्ने मानिसले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नृत्य गर्छन् । गौरा पर्वमा विशेष गरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष र महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ । पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गहुँ, मास, गहत, गुराँस र कलौ) पाँचथरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताए ।

बिरुडालाई आफन्त, छरछिमेक तथा इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको उने बताए । गौरा भित्र्याइ पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ ।

त्यस्तै, व्रतालु महिलाले आज ठकुरी बस्तीमा रहेका शिव मन्दिरलगायतका मठमन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्ने गर्छन् । अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीयको भनाइ छ ।-सुरेस परियार/न्यूज कारखाना