अंकारा । टर्की र सिरियामा भूकम्पका कारण अवस्था बिग्रँदै गएको छ । हालसम्म २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घाइतेको संख्या ६४ हजार नजिक पुगेको छ । टर्कीमा १४ हजार ३५१ जनाको ज्यान गएको छ भने ३५ हजारभन्दा बढी घाइते भएका छन् । योसँगै सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् । सिरियामा मारिएकाहरूलाई गाड्न सामूहिक चिहानहरू बनाइँदै छ ।
भूकम्पका कारण टर्कीको एन्टाक्या, सानलिउर्फा र सिरियाको अलेप्पो सहर पूर्ण रुपमा ध्वस्त भएका छन् । यहा पानी र बिजुली आपूर्ति पनि बन्द छन् । मानिसहरू आश्रयगृहमा बस्न बाध्य छन् । यहाँ खानेकुरा पाइँरहेको छैन । त्यहाका मानिसहरू भन्छन् सहयोग आउँछ तर धेरै कम छ । भूकम्पको केन्द्रबिन्दु सहर गाजियन्टेपका बासिन्दाहरूले भूकम्प गएको १२ घण्टा बितिसक्दा पनि सहयोग पुग्न नसकेको बताएका छन् । तर, ९५ भन्दा बढी देशले सहायता पठाएका छन् ।
टर्कीको मलात्यामा फेरि ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली मेडिटेरेनियन सिस्मोलाजिकल सेन्टरले ट्वीट गरेर यसबारे जानकारी दिएको छ । हिमपात र वर्षाका कारण भूकम्प प्रभावित दुवै देशमा उद्धार कार्य प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । आकस्मिक सेवा टोलीहरूले उद्धारमा धेरै कठिनाइको सामना गरिरहेका छन् ।
अमेरिकाले टर्की र सिरियाका भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गर्न ८ करोड ५० लाख डलर अर्थात करिब ७ सय करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । यसका साथै विश्व बैंकले पनि एक अर्ब डलर सहयोग पठाउने घोषणा गरेको छ । युद्धको बीचमा युक्रेनको राज्य आपतकालीन सेवाले पनि टर्कीको अन्टाक्या सहरमा उद्धार कार्यका लागि सहयोग पठाएको छ । उद्धारकर्मीहरूले हातेमा आफ्नो शिविर स्थापना गरेका छन् । युक्रेनले पनि सहयोगका लागि ८७ जना कर्मचारी पठाउने घोषणा गरेको छ ।
सिरियाली अरब रेड क्रिसेन्ट जस्ता संगठनहरूले असद सरकारमाथिको प्रतिबन्ध हटाउन आह्वान गरिरहेका छन् ताकि जनतालाई राहत पुगोस् । तर फ्र्याङ्कफर्टस्थित मानवअधिकार संगठन मेडिको इन्टरनेशनलकी एनेता स्टारोस्टाले त्यसो गर्नु गलत हुने बताएकि छिन् । सरकार नियन्त्रित एलेप्पोमा नै मानिसहरूलाई सहायता पाउन गाह्रो भइरहेको छ । इडलिब, मारियाजस्ता विद्रोही नियन्त्रित क्षेत्रका मानिसहरूमा सहायता पुगिरहेको छैन । स्थानीय प्रशासन भन्ने व्यवस्था छैन । यस्तो अवस्थामा त्यहाँ कुनै उपचार वा औषधि छैन । उद्धारमा कडाइ भइरहेको छ । त्यहाँ बसोबास गर्ने मानिसहरू विश्वव्यापी मद्दतको लागि पर्खिरहेका छन्, तर मद्दत पुगिरहेको छैन ।
Add Comment