इस्लामाबाद । पाकिस्तानको मौसमी मित्र चीनले बुधबार इस्लामाबादमा रहेको आफ्नो कन्सुलर कार्यालय अचानक बन्द गरेको छ । सञ्चार माध्यमका अनुसार तेहरिक–ए–तालिबान पाकिस्तान र बलुच लिबरेसन फ्रन्टबाट लगातार आक्रमणको धम्की आएपछि सी जिनपिङ सरकारले यो निर्णय गरेको हो । गत हप्ता चीनले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई कडा सल्लाह दिएको थियो । पाकिस्तानको सुरक्षा अवस्था नाजुक रहेको र त्यहाँ बस्न जोखिमपूर्ण रहेको उनले बताएउदै आफ्नो सुरक्षामा विशेष ध्यान दिन भनेको थियो ।
केही साताअघि पाकिस्तानको अखबार ‘द एक्सप्रेस ट्रिब्युन’ ले एउटा रिपोर्टमा चीन इस्लामाबादस्थित आफ्नो दूतावासको सुरक्षालाई लिएर चिन्तित रहेको र केही कडा कदम चाल्न सक्ने दाबी गरेको थियो । यसपछि बुधबार दूतावासले आफ्नो वेबसाइटमा विज्ञप्ति जारी गर्दै कन्सुलर खण्ड बन्द गरिएको जनाएको छ । तर, यसको कारण भने खुलाइएको छैन ।
गत हप्ता, चिनियाँ सरकारले एक सूचना जारी गर्दै भनेको थियो– यदि चिनियाँ नागरिकहरू पाकिस्तानमा छन् भने तिनीहरू आफ्नो सुरक्षाको बारेमा पूर्ण रूपमा सतर्क हुनुपर्दछ । अत्यावश्यक बाहेक बाहिर ननिस्कन भन्दै त्यहाँको सुरक्षा अवस्था नाजुक रहेको बताएको थियो । चीनको यो भनाइको पाकिस्तानको विदेश मन्त्रालयले विरोध गरेको थियो । पाकिस्तानले भनेको थियो– हामी सबै विदेशी नागरिकलाई पूर्ण सुरक्षा दिइरहेका छौं । सुरक्षा बलहरू अलर्टमा छन् ।
गत महिना, प्रहरीले इस्लामाबादको रेड सेक्युरिटी जोनमा तालिबानी आत्मघाती बम आक्रमणकारीलाई रोक्न खोजेको थियो । यसपछि उनले आफैंलाई विस्फोट गराए । आक्रमणमा दुई प्रहरी अधिकारी मारिएका थिए । त्यसपछि पेशावरको पुलिस लाइन्समा रहेको मस्जिदमा फिदाइन आक्रमण भयो र त्यहाँ १०० भन्दा बढी मानिस मारिए ।
Add Comment