अन्तराष्ट्रिय

टर्की–सिरियामा ४० हजार भन्दा बढीको मृत्युः ७० लाखभन्दा बढी बालबालिका प्रभावित

अंंकारा । टर्की र सिरियामा गएको डरलाग्दो भूकम्प गएको केही दिन भइसकेको छ । अहिलेसम्म दुवै देशमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । टर्कीमा भूकम्प गएको करिब २२२ घण्टापछि कहरामनमारस सहरको एउटा भवनको भग्नावशेषबाट एक ४२ वर्षीया महिलालाई जिउँदै निकालिएको छ । तर, उनको अवस्था गम्भीर रहेको र उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघले दुवै देशमा विपत्तिबाट ७० लाखभन्दा बढी बालबालिका प्रभावित भएको बताएको छ । योसँगै विश्व स्वास्थ्य संगठनले यो भूकम्प युरोपमा गएको १०० वर्षकै ठूलो प्रकोप भएको बताएको छ ।

मंगलबार सिरियाली राष्ट्रपति बसर–अल–असदले टर्कीसँग थप दुईवटा सीमा नाका खोल्ने घोषणा गरेको छ । यसमार्फत संयुक्त राष्ट्र संघले भूकम्पसँग सम्बन्धित राहत सामग्री सिरियामा पठाउन सक्नेछ । देशवासीलाई सहयोग गर्न यी नाका आगामी ३ महिनासम्म खुला रहनेछन् । २०२२ सिरियामा गृहयुद्ध सुरु भएयता पहिलो पटक यी सीमानाहरू खोलिएका छन् ।

टर्की र सिरियामा उद्धार कार्य जारी छ । भग्नावशेषमुनि रहेका मानिसहरुलाई अझै बाहिर निकाल्ने काम भइरहेको छ । अचम्मको कुरा के छ भने टर्कीको हाते प्रान्तमा ८–९ दिन पछि पनि धेरै मानिस जिउँदै फेला परिरहेका छन् । ८–९ दिन पछि पनि एक २६ वर्षीया महिलाको उद्धार गरिएको छ । आदियामान सहरमा १२२ घण्टापछि १८ वर्षिय युवकको उद्धार गरिएको छ ।

सिरियाको सीमामा उद्धार कार्य छोडेर धेरै देश फर्किएका छन् । आइतबार इजरायलले सुरक्षा कारण देखाउँदै आफ्नो टोली हत्जाला समूहलाई आपतकालीन उडानबाट फिर्ता बोलाएको थियो । यसअघि जर्मनी र अस्ट्रियाले पनि टर्कीबाट उद्धारकर्ता फिर्ता लिएका थिए ।

वास्तवमा, इजरायल लगायत धेरै देशका गुप्तचर एजेन्सीहरूले टर्कीको सीमामा विभिन्न समूहहरूबीच हिंसात्मक झडप हुने जानकारी प्राप्त भएको बताएका छन् । जसका कारण त्यहाँ पुगेका उद्धारकर्मीको ज्यान जोखिममा परेको छ । जर्मन उद्धार टोलीले पनि गोलीबारी भइरहेको जानकारी दिएको छ । यसै क्रममा आइतबार राति टर्कीको कहरामनमारासमा ४.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ । टर्कीमा गत फेब्रअरीमा गएको भूकम्पपछि लगातार पराकम्पनहरु आइरहेका छन्, जसका कारण मानिसहरु चिन्तित छन् ।