अन्तराष्ट्रिय

 अवैध रुपमा युरोप जाँदै गरेका पाकिस्तानका शरणार्थीहरूको इटालीको समुन्द्री तटमा ६१ शव फेला

रोम । इटालीको क्यालाब्रिया तटमा एउटा डुङ्गा पल्टिएको घटनामा एक नवजात शिशु सहित ६१ शरणार्थीको मृत्यु भएको छ । यी शरणार्थीहरू पाकिस्तान, अफगानिस्तान र इराकबाट आएको बताइएको छ । इटालीको ANSA समाचार एजेन्सीका अनुसार कैलाब्रिया कोस्ट समुद्र तटमा २८ जनाको शव फेला परेको छ । अन्य शव समुन्द्रबाट निकालिएको छ । रिपोर्टका अनुसार डुंगामा १०० भन्दा पनि बढी शरणार्थी थिए । उनीहरु सबै अवैध रुपमा युरोप जान लागेका थिए । जसमध्ये ५० जनाको उद्धार गरिएको छ ।

टर्की, पाकिस्तान, अफगानिस्तान र इराकबाट शरणार्थीहरू पानीबाट इटाली आउँदै गर्दा खराब मौसमका कारण डुंगा चट्टानमा ठोक्किएर दुई टुक्रा भएको बताइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार टोली समुद्र तटमा पुगेको थियो । ५० जनाको उद्धार गरिएको छ । अन्यको खोजी जारी छ । इटाली समुद्री मार्गबाट युरोप प्रवेश गर्न खोज्ने मानिसहरूको लागि मुख्य अवतरण बिन्दु हो । प्रत्येक वर्ष १० लाखभन्दा बढी शरणार्थीहरू डुङ्गाबाट इटाली पुग्छन् । यो मार्गलाई भूमध्यसागरीय मार्ग भनिन्छ । यो संसारको सबैभन्दा खतरनाक मार्ग हो । केही अनुगमन समूहका अनुसार सन् २०१४ यता यस रुटमा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन् ।