अन्तराष्ट्रिय

न्यूजिल्याण्डमा ७.१ म्याग्निच्युडको भूकम्पः रिङ्ग अफ फायरमा रहेको केर्माडेक टापु केन्द्र

वेलिंगटन । न्यूजिल्याण्डको कर्माडेक टापुमा बिहीबार बिहान भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार रिक्टर स्केलमा यसको तीव्रता ७.१ थियो । भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर भित्र रहेको थियो । तर, भूकम्प मापन केन्द्र (एनसीएस) ले ६ दशमलव ८ म्याग्निच्युड रहेको र भूकम्पको केन्द्र जमिनबाट ४१ किलोमिटर तल रहेको जनाएको छ । भूकम्पपछि (युएसजीएस) न्यूजिल्याण्डमा सुनामीको चेतावनी जारी गरेको छ । तर, न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । अहिले कुनै क्षतिको खबर छैन ।

फेब्रअरी १५ मा पनि न्युजिल्याण्डमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राजधानी वेलिङ्टन र अकल्याण्ड र क्राइस्टचर्च सहरका मानिसहरूले करिब ३० सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेका थिए । दुई टेक्टोनिक प्लेटको जंक्शन नजिकै रहेको न्युजिल्यान्डमा बारम्बार भूकम्प जान्छ । न्युजिल्याण्ड बाहेक पपुवा न्युगिनी, ताइवान, भानुआटु र अन्य प्रशान्त टापुहरूमा सधैं भूकम्प जाने सम्भावना रहन्छ । यो क्षेत्र रिंग अफ फायरको नजिकै अवस्थित छ – घोडाको नालको आकारको सिस्मिक फल्ट लाइनहरूको शृंखलाले समुद्रलाई घेरेको छ ।

रिङ अफ फायर एउटा क्षेत्र हो जहाँ धेरै महाद्वीपीय साथै समुद्री टेक्टोनिक प्लेटहरू छन् । जब यी प्लेटहरू आपसमा ठोक्किन्छन्, भूकम्प आउँछ, सुनामी आउँछ र ज्वालामुखी विस्फोट हुन्छ । विश्वका ९० प्रतिशत भूकम्प यही रिङ अफ फायर क्षेत्रमा आउँछन् । यो क्षेत्र ४० हजार किलोमिटरमा फैलिएको छ । विश्वका ७५% सक्रिय ज्वालामुखी यस क्षेत्रमा छन् । १५ देश यस रिङ्ग अफ फायरको क्षेत्रमा परेका छन् ।
जापान, रूस, फिलिपिन्स, इन्डोनेसिया, न्यूजील्याण्ड, अन्टार्कटिका, क्यानडा, संयुक्त राज्य अमेरिका, मेक्सिको, ग्वाटेमाला, कोस्टारिका, पेरु, इक्वेडर, चिली, बोलिभिया ।

विश्वमा हरेक वर्ष धेरै भूकम्प आउँछन् तर त्यसको तीव्रता कम हुन्छ । राष्ट्रिय भूकम्प सूचना केन्द्रले हरेक वर्ष करिब २० हजार भूकम्पको रेकर्ड राख्छ । यसमध्ये १०० भूकम्पले बढी क्षति पु¥याउने गरेका छन् । भूकम्प केही सेकेन्ड वा केही मिनेटसम्म रहन्छ । इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने भूकम्प सन् २००४ मा हिन्द महासागरमा गएको थियो । यो भूकम्प १० मिनेटसम्म चलेको थियो ।