अन्तराष्ट्रिय

पाकिस्तानी एयरलाइन्ससँग पेट्रोलको पैसा छैन, पीआईएका तीन बोईङ्ग ७७७ सहित ११ विमान ग्राउन्डेड

इस्लामावाद । पाकिस्तानका खराब दिनहरू अन्त्य भइरहेका छैनन् । पछिल्लो जानकारी अनुसार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले तीन बोइङ ७७७ सहित ११ वटा विमान ग्राउन्ड गरेको छ । डलरको अनियन्त्रित मूल्य र महँगो पेट्रोलियम पदार्थका कारण राष्ट्रिय वायुसेवा कम्पनी गम्भीर आर्थिक संकटमा परेको अखबार द डनले जनाएको छ । यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस वर्षको मे महिनामा पनि पिआइएका प्रमुख कार्यकारी अधिकृत आमिर हयातले यस वर्ष एयरलाइन्सलाई ११२ अर्ब रुपैयाँ घाटा हुने बताएका थिए । उनले हाल पीआईए ७ खर्ब ४२ अर्ब रुपैयाँ ऋणमा रहेको बताए ।

समाचारका अनुसार एयरलाइन्सले करिब ३० जहाज सञ्चालन गरिरहेको छ । विगत तीन वर्षदेखि नगद अभावका कारण पार्टपुर्जा किन्न निकै समस्या भइरहेको छ । जसका कारण ११ वटा विमान ग्राउन्ड गर्ने निर्णय भएको छ । यसअघि बोइङ ७७७ विमानमध्ये दुई वटा सन् २०२० र एउटा सन् २०२१ मा ग्राउण्डेड भएका थिए । पाँचवटा ए ३२० विमान पनि सञ्चालनमा छैनन् । जसमध्ये दुई वटा २०२१मा र तीन २०२३ मा ग्राउन्ड गरिएको थियो । पीआईएका प्रवक्ताले ११ विमान ग्राउन्डिङ गरेको खबरको पुष्टि गरेका छन् । उनले विदेशी मुद्रामा परनिर्भरतालाई पनि धेरै चुनौतिको रुपमा उल्लेख गरेका छन् ।

एयरलाइन्सका एक वरिष्ठ अधिकारीले पिआईएको फ्लीटमा ३१ वटा विमान रहेको बताए । ग्राउन्डेड भएका ११ मध्ये तीनवटा बोइङ ७७७, एयरबस र एटीआर विमानको इन्जिन र स्पेयर पार्ट्स अभावका कारण मर्मत गर्न गाह्रो छ । हाल पीआईएले बाँकी २० वटा विमानबाट सञ्चालन गरिरहेको अधिकारीले बताए । साथै उपलब्ध वायुयान अनुसार उडानहरू सञ्चालन भइरहेका छन् । विशेषगरी अन्तर्राष्ट्रिय रुटमा उडान संख्या बढेमा एयरलाइन्सलाई विमानको अभाव हुने उनले बताए । पीआईएका प्रमुख कार्यकारी अधिकृतले पब्लिक–प्राइभेट मोडलमा सञ्चालन गर्न पटक–पटक भनेका छन् ।

पीआईएको वेबसाइटले देखाए अनुसार यसको नेटवर्क एशिया, युरोप र उत्तर अमेरिकामा फैलिएको छ, १९ देशहरू समेट्छ । अर्कोतर्फ शान्ति व्यवस्था कायम गर्न र निगमका काम कारवाहीलाई सुचारु बनाउन पिआइए व्यवस्थापनले वरिष्ठ कर्मचारी संघ (एसएसए) को कार्यालय बन्द गरेको छ । एसएसएका महासचिव सफदर अन्जुमले आफ्नो कार्यालय बन्द गर्नु गैरकानुनी र संगठनको शान्तिमा खलल पार्ने प्रयास भएको बताए । यसैबीच रावलपिण्डीको कार्यालयमा पनि विरोध प्रदर्शन भइरहेको छ ।