अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपतिसहित २२ देशका प्रमुख जी–२० शिखर सम्मेलनमा सहभागी हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले जी २० सम्मेलनमा भाग लिन भारत भ्रमणको लागि आतुर रहेको बताएका छन् । जो बाइडेन सेप्टेम्बर ७ मा भारत भ्रमणमा पुग्नेछन् । जहाँ उनले सेप्टेम्बर ८ मा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा भाग लिनेछन् । यसपछि उनले सेप्टेम्बर ९ र १० मा हुने जी२० शिखर सम्मेलनमा भाग लिनेछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ भने भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी जनाउन नसक्ने भनियता पनि जी–२० नेताहरूको शिखर सम्मेलनका विशेष सचिव मुक्तेश परदेशीले चिनियाँ राष्ट्रपति सीको शिखर सम्मेलनमा सहभागीताबारे लिखित पुष्टि हुन बाँकी रहेको बताए ।

केही रिपोर्टमा भनिए अनुसार सी जिनपिङ दिल्ली आउँदैनन् र उनको स्थानमा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भारत आउनेछन् । यसबारे मुक्तेश परदेशीले भनेका छन्, ‘हामीले पत्रपत्रिकामा यस्ता समाचार हेरेका छौं तर हामी लिखित पुष्टिका आधारमा मात्रै काम गर्छौं । हामीले अहिलेसम्म कुनै लिखित प्राप्त गरेका छैनौं, यो पुष्टि नभएसम्म यसबारे केही भन्न नसक्ने बताएका छन् ।

नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, जर्मन चान्सलर ओलाफ स्कोल्ज, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जापानी प्रधानमन्त्री फुमियो किशिदा, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला सहभागी हुनेछन् । सिल्वा लगायतका नेताहरुको सहभागिता रहनेछ । सेप्टेम्बर १० मा हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–२० को अध्यक्षता ब्राजिललाई हस्तान्तरण गर्नेछन् । विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत हिस्सा जी–२० देशले ओगटेको छ भन्ने तथ्यबाट जी–२० समूह कति महत्त्वपूर्ण छ भन्ने अनुमान गर्न सकिन्छ । विश्व व्यापारको ७५ प्रतिशत र विश्वको दुई तिहाई जनसङ्ख्या जी–२० देशहरूमा बस्छन् ।

जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका, र युरोपेली संघ रहेका छन् ।