अन्तराष्ट्रिय

पाकिस्तानमा क्रिस्चियनहरूमाथि आक्रमण बढ्यो, ईश्वरनिन्दाको आरोपमा पादरीलाई गोली प्रहार : अवस्था गम्भीर

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात आक्रमणकारीले एकजना पादरीलाई गोली हानेर घाइते बनाएका छन् । यो घटना यस्तो समयमा प्रकाशमा आएको हो जब केही साताअघि भीडले ईश्वरनिन्दाको आरोपमा गिर्जाघर र क्याथेड्रलमा आक्रमण गरी जलाएको थियो । फैसलाबाद जिल्लाको जरनवाला तहसीलमा रहेको म्योङ–साङ नाजरेथ चर्चमा काम गर्ने पास्टर इलाजर विक्की आइतबार साँझ चर्चबाट घर फर्कदै गर्दा उनलाई मार्ने प्रयास गरिएको हो ।

घटनाको सम्बन्धमा, प्रहरीले भने अनुसार एलाजार चर्चबाट घर फर्कदै गर्दा एक अज्ञात दाह्रीधारी व्यक्तिले गोली हानेर घाइते बनाए । उनलाई तुरुन्तै अस्पताल लगियो, जहाँ डाक्टरले उनको शल्यक्रिया गरी दाहिने हातबाट गोली निकालेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । प्रहरी अधिकारी नाभिद अहमदले पत्रकारहरूलाई भने पास्टरको उजुरीको आधारमा अज्ञात संदिग्धहरू विरुद्ध मुद्दा दर्ता गरिएको थियो । “हामीले पास्टर इलाजरको सुरक्षाका लागि प्रहरी तैनाथ गरेका छौं र केही संदिग्धहरूलाई पक्राउ गरेको बताउदै अहमदले चर्चहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

पादरीले प्रहरीलाई दिएको बयानमा चर्चको बाहिरी पर्खालमा अरबी भाषामा आपत्तिजनक धार्मिक नारा लेखिएको बताए । उनले भने, ‘मैले यसबारे प्रहरीलाई जानकारी गराए पनि उनीहरूले यो कुरा लुकाए । केही दिनअघि छोरालाई स्कुल पठाउन गएको बेला केही दाह्रीवालाले मलाई रोकेर भनेका थिए– ‘जसरी तिम्रो चर्चको पर्खालबाट हाम्रो नारा हटाइयो, छिट्टै तिमीलाई पनि हटाइनेछ । पादरीले आफूमाथि भएको आक्रमणको पछाडि कट्टरपन्थी इस्लामिक पार्टीको हात हुनसक्ने आशंका गरेका थिए । अगस्ट १६ मा, पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट १३० किलोमिटर टाढा फैसलाबाद जिल्लाको जरानवाला सहरमा एउटा भीडले धेरै चर्चहरू र ईसाई क्षेत्रहरूमा आक्रमण ग¥यो, एक क्रिस्चियन व्यक्ति विरुद्ध ईश्वरनिन्दाको आरोपमा उनीहरुले क्रिस्चियन चिहानमा आक्रमण गर्नुका साथै स्थानीय सहायक आयुक्तको कार्यालयमा तोडफोड समेत गरेका छन् ।