अन्तराष्ट्रिय

अफगानिस्तानद्वारा भारतस्थित दूतावास बन्द गर्ने निर्णय

नयाँ दिल्ली । अफगानिस्तानमा असरफ घानीको सरकार गएपछि देशमा तालिबान शासन आयो तर त्यसको बाबजुद पनि भारतमा पुरानो सरकारको दूतावासले काम गरिरहेको थियो । अहिले अफगानिस्तानले भारतमा रहेको आफ्नो दूतावास बन्द गरेको छ । अफगानिस्तानको इस्लामिक रिपब्लिक अफ अफगानिस्तानको दूतावासले आइतबार (अक्टोबर १) देखि भारतमा आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेको तालिवानले आधिकारिक विज्ञप्तिमा जनाएको छ । तालिबानले एक आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ठूलो दुःख, खेद र निराशाका साथ अफगानिस्तानले नयाँ दिल्लीमा रहेको आफ्नो दूतावासको सञ्चालन बन्द गर्ने निर्णयको घोषणा गरेको छ । योसँगै अफगानिस्तानले भारतमा रहेको दूतावास बन्द गर्नुका तीन ठूला कारण पनि दिएको छ ।

अफगानिस्तानले एक आधिकारिक विज्ञप्तिमा भन्यो, हाम्रो दूतावासले भारतमा कूटनीतिक समर्थनको अभाव अनुभव गरेको छ, जसले अफगानिस्तानको सर्वोत्तम हित र आफ्नो कर्तव्य पूरा गर्ने क्षमतामा बाधा पु¥याएको छ । अफगानिस्तान र भारतबीचको ऐतिहासिक सम्बन्ध र दीर्घकालीन साझेदारीलाई ध्यानमा राखी सावधानीपूर्वक विचार विमर्शपछि यो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानले भारतमा रहेको दूतावास बन्द गर्नुको दोस्रो कारण कर्मचारी अभाव रहेको बताएको छ । विज्ञप्तिमा कूटनीतिज्ञहरूको भिसा नवीकरणमा समयमै र पर्याप्त सहयोग नहुँदा कर्मचारी र स्रोतसाधनको कमीका कारण सञ्चालनलाई निरन्तरता दिन चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।

भारतका लागि अफगानिस्तानका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञहरू भारत छोडेर युरोप र अमेरिका गएर त्यहाँ शरण लिएको र यसले अफगान कूटनीतिज्ञहरू बीचको आन्तरिक कलहको बारेमा पनि कुरा विज्ञप्तिमा उल्लेख छ ।

वास्तवमा, अधिकांश देशहरूले अफगानिस्तानको तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएका छैनन्, तर उनीहरूले यसलाई शासक तालिबान शासनको रूपमा स्वीकार गरेका छन् । त्यस्तै अघिल्लो सरकारले नियुक्त गरेका कूटनीतिज्ञहरूले दूतावासको भवन र सम्पत्तिको नियन्त्रण तालिबान प्रशासनले चुनेका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेका छन् । तर, भारतले तालिबान सरकारलाई मान्यता दिने निर्णयमा संयुक्त राष्ट्रसंघको आदेश पालना गर्ने बताएको छ ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि भारतले राजधानी काबुलबाट आफ्नो सम्पूर्ण मिसन खाली गरेको थियो, तर गत वर्ष जुनमा आफ्नो दूतावास पुनः खोल्नको लागि एउटा सानो टोलीलाई फिर्ता पठाएको थियो । यसबाहेक भारत सरकारले २०२२ मा अफगानिस्तानमा गहुँ, औषधि, कोभिड–१९ विरुद्धको खोप र जाडो लुगालगायत अन्य राहत सामग्री समेत पठाएको थियो ।