विविध

विराटनगर पुगेलगत्तै अभिषेक गिरी फेरि पक्राउ

काठमाडौँ । ठगी तथा आपराधिक लाभसम्बन्धी विभिन्न मुद्दामा अनुसन्धानको दायरामा रहेका अभिषेक गिरीलाई विराटनगर विमानस्थलबाट पुनः पक्राउ गरिएको छ।

बिहीबार साँझ काठमाडौँबाट बुद्ध एयरको उडानमार्फत विराटनगर पुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि निर्माण व्यवसायी सुभाष श्रेष्ठको जाहेरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरीमाथि ठगी तथा आपराधिक विश्वासघातको अनुसन्धान गरेको थियो। सीआईबीले २१ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको निष्कर्षसहित मुद्दा चलाउन राय दिएको थियो।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाएर रिहा भएका गिरी विराटनगर पुगेलगत्तै अर्को मुद्दामा पुनः पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।