विविध

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धार चुनौतीपूर्ण, सुरुङबाहिर एक शव फेला

रसुवा । चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट) को सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि आज विशेषज्ञ पर्वतारोही गाइडहरूको टोली तथा सिम्रिक हेलिकप्टरको टोली खटिएको छ।

NNMGA का विशेषज्ञ माउन्टेन गाइडहरूको टोलीले डोरीको सहायताले सुरुङभित्र करिब १०० मिटरभन्दा बढी दूरीसम्म प्रवेश गरेको थियो। तर, छातीसम्म पुग्ने लेदो र हिलोका कारण टोली थप अगाडि बढ्न नसकेको बताइएको छ।

उद्धार टोलीका अनुसार सुरुङ लेदो र हिलोले पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा रहेको छ, जसका कारण सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

यसैबीच, आज सुरुङबाहिर एक जनाको शव फेला परेको छ। उक्त शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको जनाएको छ।

हालको अवस्था

🔴 सुरुङभित्र फसेका कर्मचारी: ६ जना
🔴 बाहिरबाट सम्पर्कविहीन/बेपत्ता: २ जना

उद्धार तथा खोजी कार्य जारी रहेको छ। थप विवरण आउन बाँकी छ।