मस्को । रुसले युक्रेनको इज्मेल बन्दरगाहमा ठूलो हमला गरेको छ । यो बन्दरगाह युक्रेनको सबैभन्दा ठूलो अनाज निर्यात गर्ने बन्दरगाह हो । रुसले यस बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । जसमा बन्दरगाहलाई नराम्ररी क्षति पुगेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सोमबार भएको महत्वपूर्ण बैठकअघि यो हमला भएको हो ।
मिडिया रिपोर्टका अनुसार इजमेल पोर्ट युक्रेनको ओरिसा क्षेत्रको डेन्युब नदीमा बनेको हो । रुसी ड्रोन आक्रमणबाट बन्दरगाहको गोदाम, उत्पादन भवन, कृषि मेसिनरी र उपकरणमा ठूलो क्षति पुगेको छ । यस आक्रमणमा कुनै हताहतको खबर छैन । युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातकर्ता मध्ये एक हो । रुस–युक्रेन युद्धका कारण खाद्यान्नको निर्यात अवरुद्ध भएको र त्यसको असर विश्वभर खाद्य संकटको रुपमा देखिएको छ । खासगरी अफ्रिका, मध्यपूर्व र एसियाका धेरै देशहरूमा खाद्य संकट बढी गम्भीर छ । अब खाद्यान्न निकासीका लागि तयार बन्दरगाहमा आक्रमणका कारण खाद्यान्न संकट गहिरिने सम्भावना छ ।
विश्वव्यापी संकटलाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघ र टर्कीले युक्रेनबाट खाद्यान्न निर्यात गर्न रुससँग ब्ल्याक सी सम्झौता गर्ने प्रयास गरिरहेका छन् । सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच महत्वपूर्ण भेटवार्ता हुने भएपनि यो बैठकअघि नै युक्रेनको बन्दरगाहमा ठूलो हमला भएको छ, जसमा खाद्यान्न निर्यात गर्ने युक्रेनको महत्वपूर्ण बन्दरगाह प्रभावित भएको छ र ठूलो क्षति भएको छ ।
जुलाईमा भएको सम्झौताअनुसार युक्रेनको तीनवटा बन्दरगाहबाट ३ करोड ६० लाख टन अनाज र अन्य सामान निकासी गर्न तयार भए पनि ६ साताअघि रुस यो सम्झौताबाट पछि हटेको थियो । त्यसयता डेन्युब नदीका बन्दरगाहहरूमा धेरै पटक आक्रमण भएको छ । पुटिनले ब्ल्याक सी सम्झौता स्वीकार गर्न धेरै माग राखेका छन् । जसमा रुसी उर्वरक कम्पनीहरू विरुद्ध पश्चिमी प्रतिबन्ध हटाउने, अमोनिया निर्यात पुनः सुरु गर्ने, भुक्तानीमा पश्चिमी प्रतिबन्धबाट राहत, रसद र ढुवानी बीमा, रसियाको कृषि बैंक रोसेललाई अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क स्विफ्टमा पुनः जडान गर्ने मागहरू समावेश छन् । रुसले आफ्ना मागहरू पूरा नभएको भन्दै युक्रेनी बन्दरगाहमा आक्रमण भइरहेको बताएको छ । यस विषयमा छलफल गर्न रुसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोगानबीच सोमबार सोचीको ब्ल्याक सी रिसोर्टमा भेटवार्ता हुनेछ ।
Add Comment