अन्तराष्ट्रिय

अमेरिकाको क्यालिफोर्निया राज्य बाढीले विध्वंस, १९ जनाको मृत्यु, २ लाख करोडको क्षति 

वासिङ्टन । अमेरिकाको क्यालिफोर्निया राज्य खतरनाक आँधीको चपेटामा परेको छ । दुई सातादेखि चलेको हावाहुरीका कारण हालसम्म १९ जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको अवस्था कत्तिको गम्भीर छ भन्ने कुरा राष्ट्रपति बाइडेनले आइतवार त्यहाँ संकटकाल घोषणा गरेको तथ्यबाट अनुमान गर्न सकिन्छ ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार पनि भारी वर्षाको सम्भावना रहेको छ । यसले क्यालिफोर्नियाको समस्या झनै बढाउँनेछ । यो भीषण आँधीका लागि वायुमण्डलीय नदी जिम्मेवार रहेको बताइएको छ । न्यूयोर्क टाइम्सका अनुसार क्यालिफोर्नियामा विगत दुई हप्तामा ८ वटा वायुमण्डलीय नदीहरू प्रभावित भएका छन् । सेन्टर फर वेस्टर्न वेदर एन्ड वाटर एक्स्ट्रिम्सका अनुसार क्यालिफोर्नियामा एक वर्षमा जति वायुमण्डलीय नदीहरू बन्छन्, ती केही हप्तामा बनेका हुन् । कतै मुसलधारे पानी परिरहेको छ त कतै हिमपात ल्याइरहेको छ ।

अहिले दुईवटा वायुमण्डलीय नदीहरू क्यालिफोर्नियामा आउने अपेक्षा गरिएको छ । आपतकालीन अधिकारीहरुका अनुसार राज्यबाट ७५ हजार मानिसलाई सुरक्षित स्थानमा पुग्न चेतावनी दिइएको छ । २० हजारभन्दा बढी मानिस बिजुलीविना बाँच्न बाध्य छन् । क्यालिफोर्नियाका धेरै राजमार्ग, सडक र पुलहरू पानीले ध्वस्त भएका छन् । धेरै घरहरु या त भत्किएका छन् वा भत्किन लागेका छन् । क्यालिफोर्नियामा भारी वर्षा, आँधी र बाढीका कारण अहिलेसम्म २ लाख करोड रुपैयाँ (३० अर्ब डलर) नोक्सान भएको आशंका गरिएको छ । ब्लूमबर्गको रिपोर्टका अनुसार क्यालिफोर्नियाका धेरै व्यवसायहरू आँधीका कारण ठप्प भएका छन् ।

अमेरिकाको सिटी अफ ट्रीज भनेर चिनिने साक्रामेन्टो सहरमा पछिल्लो ६ दिनमा झण्डै एक हजार रुख ढलेका छन् । अमेरिकी वन सेवाका अनुसार आँधीमा परेका केही रुखहरू ८० देखि १०० वर्ष पुराना थिए । क्यालिफोर्नियाको उत्तरी भाग सबैभन्दा पहिले आँधीको चपेटामा परेको थियो । पहिरो, बाढीको पानी र खसेको रुखले यहाँका सबै सडक अवरुद्ध पारेको छ ।

क्यालिफोर्नियामा क्रिसमसपछि अर्थात २६ डिसेम्बरदेखि आँधी सुरु भएको थियो । डिसेम्बर ३० सम्म, क्यालिफोर्नियामा आएको आँधीबाट ४ इन्च र ६ इन्चको बीचमा वर्षा भएको थियो । जहाँ डिसेम्बर ३० पछि हावाहुरीले जनजीवन कष्टकर बनाउन थाल्यो । जनवरी १३ सम्म, वर्षाले गति लियो र एक दिनको औसत वर्षा ६ इन्चबाट १० इन्चमा बढ्यो । सान्ता बारबरामा जनवरीमा एकै दिन २० इन्चभन्दा बढी वर्षा भएको थियो ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार क्यालिफोर्नियाका धेरै क्षेत्रमा ५० माइल प्रतिघण्टाभन्दा बढीको गतिमा हावा चलेको छ । जनवरी ८ मा, सेन्ट्रल भ्याली र सान फ्रान्सिस्कोमा ३९ माइल प्रति घण्टाको गतिमा हावा चलेको रिपोर्ट गरिएको थियो । यो साता आँधीको गति कम हुने अनुमान गरिएको छ । साथै केहि मौसम रिपोर्टहरू अनुसार ९ औं वायुमण्डलीय नदीले क्यालिफोर्नियालाई अझै घेर्न सक्छ ।

क्यालिफोर्निया गभर्नरको कार्यालयका आपतकालीन सेवाका निर्देशकले यो आँधी राज्यको इतिहासमा सबैभन्दा ठूलो आँधी भएको बताएका छन् । यस पटक क्यालिफोर्नियामा आएको बाढीले मानिसहरूलाई १८६१ को बाढीको सम्झना गराएको छ । त्यतिबेला पनि क्रिसमसको समयमा नै बाढीले विनाश गरेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसन्धानकर्ता माइकल डी. डेटिङ्गरको रिपोर्ट अनुसार १८६१ को बाढी ४३ दिनसम्म चलेको थियो । त्यसबेला पनि वायुमण्डलीय नदीका कारण यस्तो अवस्था सिर्जना भएको थियो ।

वायुमण्डलीय नदीहरू सामान्यतया उष्णकटिबंधीय क्षेत्रहरूमा बनिन्छन् । त्यहाँको तातो तापक्रमका कारण समुद्रको पानी वाफमा परिणत भएर वायुमण्डलमा जम्मा हुन्छ । बलियो हावाले पानीको वाष्पलाई वायुमण्डलको माथिल्लो सतहतिर लैजान्छ । यस अवधिमा जलवाष्प तीव्र हावाको साथ नदीको रूपमा पृथ्वीको सतहमा एक ठाउँबाट अर्को ठाउँमा सर्छ । पाइनएपल एक्सप्रेस संसारको सबैभन्दा ठूलो र सबैभन्दा खतरनाक वायुमण्डलीय नदीको नाम हो । यसको अधिकतम प्रभाव अमेरिका र क्यानडाको पश्चिमी भागमा देखिएको छ । यो ‘पाइनएपल एक्सप्रेस’ का कारण क्यालिफोर्नियाका धेरै ठाउँमा दिनमा ५ इन्चसम्म पानी परिरहेको छ ।

यसैबीच, क्यालिफोर्निया बाहेक फिलिपिन्समा पनि बाढीले विनाश मच्चाइरहेको छ । त्यहाँ अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । फिलिपिन्समा वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधी आएको छ । बाढीका कारण धेरै ठाउँमा पहिरो जाने गरेको छ । ८३ हजारभन्दा बढी मानिसलाई आफ्नो घरबाट विस्थापित गरी सुरक्षित स्थानमा राखिएको छ । त्यहाँको नागरिक रक्षा कार्यालयका अनुसार बाढीका कारण हालसम्म १२ सय घर पूर्णरुपमा ध्वस्त भएका छन् ।