अन्तराष्ट्रिय

चीनमा जिनपिङको विरोध गर्ने प्रदर्शनकारी बेपत्ता: महिला धेरै 

बेइजिङ । चीनमा कोरोनाले गरेको विनाशको प्रभाव बिस्तारै हट्दै गएको छ । यस्तो अवस्थामा अब सी जिनपिङको सरकारले कोरोना प्रतिबन्धको विरोध गर्ने मानिसहरूलाई एक एक गरी बेपत्ता बनाउँदैछ । बीबीसीको प्रतिवेदनमा सरकारले अहिलेसम्म १०० जनालाई चुपचाप हिरासतमा राखेको दाबी गरेको छ । तीमध्ये धेरै महिला छन् । अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूले उनीहरूको रिहाइको माग गरिरहेका छन् । गैरकानूनी माध्यमबाट पक्राउ परेका व्यक्तिको सूची पनि एक संस्थाले जारी गरेको छ ।

गत वर्ष नोभेम्बरमा चीनमा हजारौं मानिसले कोरोना प्रतिबन्धविरुद्ध श्वेतपत्र राखेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले धेरैलाई पक्राउ पनि गरेको थियो । तर, अहिले यी गिरफ्तारीले तिब्रता पाएको छ । बीबीसीका अनुसार पक्राउ परेकाहरु कार्यकर्ता नभई अमेरिका र बेलायतमा अध्ययन गरेर फर्किएका लेखक, पत्रकार, शिक्षक र संगीतकार हुन् । प्रहरीले हिरासतमा लिइएका महिलाहरु कुनै महिलावादी समूहका सदस्य हुन् कि होइन भनेर सोधपुछ गरिरहेको छ । वास्तवमा, सी जिनपिङको सरकारले महिला अधिकारका लागि आवाज उठाउने मानिसहरूमाथि नजर राखेको छ । चीनले भविष्यमा कुनै पनि हालतमा विरोधको वातावरण बनोस् भन्ने चाहँदैन । एक युवकले बीबीसीलाई प्रहरीले नियन्त्रणमा लिएकी एक महिला उनको प्रेमिका रहेको बताए ।

आफ्नो परिचय खुलाउन इन्कार गर्दै युवकले आफ्नी प्रेमिकालाई प्रहरीले उठाएपछि फोनमा कुरा गरिरहेको बताए । उनले युवकलाई भनिरहेकी थिइन् कि उनका अन्य धेरै साथीहरूलाई पनि प्रहरीले अचानक उठाएको छ । मोबाइलबाट सबै च्याट डिलिट गरिरहेकै बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । चीनको गिरफ्तारीमा नजर राख्नेहरूले सरकारले विरोध गरिरहेका युवा केटा केटीहरूलाई थुनामा राखेर उनीहरूका मास्टरमाइन्डसम्म पुग्न खोजेको विश्वास गर्छन् । चीन सरकारले कोरोनाको समयमा त्यहाँ भएको प्रदर्शनको पछाडि पश्चिमी देशको हात रहेको विश्वास गरेको छ ।

तर, न्युयोर्क टाइम्सलाई एक प्रदर्शनकारी महिलाले आफ्नो परिचय लुकाएर आफू पनि चीनको नागरिक भएको कारण प्रदर्शनमा सहभागी भएको बताएकि थिइन् । त्यसो गर्न उनलाई कसैले उक्साएको थिएन । २४ नोभेम्बर २०२२ मा चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा साँझ ७ः५४ बजे एउटा अपार्टमेन्टको १५ औं तल्लामा आगलागी भएको थियो ।

अर्कोतर्फ, कडा शून्य–कोभिड नीतिका कारण अग्नि नियन्त्रकहरू आउन ढिलाइ भएको थियो । ५ घण्टासम्म पनि आगो नियन्त्रणको व्यवस्था भएको थिएन । जसका कारण धुवाँमा निस्सासिएर १० जनाको मृत्यु भएको थियो । उरुम्कीमा भएको आगलागीको घटना चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उरुम्चीको घटनाले जनताको मनमा डर पैदा गरेको छ । भोलि आफ्नो घरमा आगलागी भयो भने हामीलाई पनि घरभित्र थुनेर यसरी मारिन सक्छ भनी मानिसहरू विश्वास गर्थे । त्यसयता चीनको शाङ्घाईलगायत धेरै सहरमा जिनपिङविरुद्धको प्रदर्शन तीव्र भएको थियो ।