अन्तराष्ट्रिय

इमरान खान अल–कादिर–ट्रस्ट मुद्दा :  जमानत याचिकामा आज सुनुवाई

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि आज महत्वपूर्ण दिन हो । बुधवार इस्लामाबाद उच्च अदालतले अल कादिर ट्रस्ट मुद्दामा इमरान खानको जमानत याचिकामा सुनुवाई गर्ने छ । खानको जमानत बुधबार सकिएको छ । इस्लामाबाद उच्च अदालतले धारा १४४ को उल्लङ्घनका साथै देशको राजधानीमा आयोजित एक ¥यालीमा मे ९ मा हिंसाका घटनाहरूको सम्बन्धमा खानको दुई अतिरिक्त जमानत आवेदनको सुनुवाइ गर्नेछ । यसबाहेक अदालतले बुधबार इमरान खानकी पत्नी बुशरा बीबीको जमानत याचिकामा पनि सुनुवाइ गर्नेछ । बुशरा बीबी विरुद्ध अल कादिर ट्रस्ट मामिलामा पनि मुद्दा दर्ता गरिएको छ ।

पाकिस्तानी मिडियाका अनुसार इस्लामावाद उच्च अदालतले मे १२ मा पीटीआई प्रमुखलाई मे १५ सम्ममा दर्ता भएका सबै मुद्दाहरूमा गिरफ्तार गर्नबाट रोक्न निर्देशन दिएको थियो । तर अदालतले सुनुवाइमा जेठ ३१ गतेसम्म पक्राउ गर्न रोक लगाएको थियो । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध १०० भन्दा बढी मुद्दा दर्ता छन् । जबकी श्रीमती विरुद्ध तोशखाना र अल कादिर ट्रस्टमा मुद्दा दर्ता भएको छ । नेशनल एकाउन्टेबिलिटी ब्यूरोले हालै इमरान खान, उनकी पत्नी बुशरा बीवी र इमरान खानको पार्टी पीटीआईसँग सम्बद्ध धेरै नेताहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो । यो मामला अल कादिर ट्रस्ट विश्वविद्यालयसँग सम्बन्धित छ । इमरान खानले प्रधानमन्त्री हुँदा आफ्नी पत्नी बुशरा बीबी र केही अन्य पीटीआई नेताहरूसँग अल–कादिर विश्वविद्यालय परियोजना ट्रस्ट बनाएको आरोप छ । यसको उद्देश्य पञ्जाबको सोहावा जिल्लाको झेलममा गुणस्तर शिक्षा प्रदान गर्न अल–कादिर विश्वविद्यालय स्थापना गर्नु थियो । ट्रस्टको कार्यालयको ठेगाना बनी गाला हाउस, इस्लामाबाद उल्लेख गरिएको छ ।

इमरान खानमाथि इमरान र उनकी श्रीमतीले गैरकानुनी रूपमा यस विश्वविद्यालयका लागि आवासीय कम्प्लेक्सको जग्गा कब्जा गरेको आरोप छ । यसका लागि दुवैले पाकिस्तानका सबैभन्दा धनी व्यक्तित्व मलिक रियाजलाई धम्की समेत दिएका थिए । इमरानकी श्रीमती बुशरा बीबीसँग पाँच क्यारेटको हीराको औंठी मागेको कुरा पनि बाहिर आएको थियो । यसका साथै पूर्व प्रधानमन्त्री, उनकी पत्नी बुशरा बिबी र अन्य पीटीआई नेताहरूमाथि पनि राष्ट्रिय कोषलाई १९ करोड पाउण्डको नोक्सान गरेको आरोप लागेको छ ।

पाकिस्तान सरकारको आदेशमा खानलाई मे ९ मा पक्राउ गरिएको थियो । त्यसपछि पीटीआई कार्यकर्ताले जिन्ना हाउस, मियाँवाली एयरबेस, आईएसआई भवनलगायत दर्जनौं सैन्य प्रतिष्ठानमा तोडफोड गरेका थिए । रावलपिंडीस्थित सेनाको मुख्यालयमा पनि भीडले आक्रमण गरेको थियो । प्रहरीका अनुसार झडपमा करिब १० जनाको मृत्यु भएको थियो । अर्कोतर्फ, पीटीआईले सुरक्षा बलको गोलीबारीमा उनीहरूको पार्टीका करिब २०० व्यक्ति मारिएको दाबी गरेको छ ।