अन्तराष्ट्रिय

नेपालबाट नेटवर्क कसले सञ्चालन गर्दैछरु एक–दुई मात्र होइन ८ हजार ७ सय ७४ सिमकार्ड भारतमा पक्राउ

गोपालगञ्ज, भारत । बिहारको गोपालगञ्जमा लोकसभा चुनावअघि बरामद ८ हजार ७७४ सिमकार्ड र नेपाली नोटको घटनामा सुरक्षा निकायले अनुसन्धान थालेको छ । जानकारीका अनुसार आर्थिक अपराध इकाई (इओयू) र बिहार एटीएसले यस सम्पूर्ण मामिलामा अनुसन्धान गरिरहेका छन् । प्रहरी र अनुसन्धान एजेन्सीहरूले यो ठूलो परिमाणमा सिमकार्डहरू लोकसभा चुनावमा अनियमितता गर्ने षड्यन्त्र हुन सक्ने आशंका गरेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा प्राप्त जानकारी अनुसार सिमकार्ड दिल्लीबाट उडानमा गोरखपुर विमानस्थलमा ल्याइएको थियो । त्यसपछि नेपालबाट आएका पश्चिम बंगालको माल्दा जिल्लाका तीन युवाले विमानस्थलमै सिमकार्ड पाएका थिए । पूरै नेटवर्क काठमाडौं, नेपालबाट सञ्चालन भएको थियो । त्यसैले यसका पछाडि शत्रु राष्ट्र चीनको हात हुनसक्ने आशंका सुरक्षा निकायलाई छ । पक्राउ परेका तीनै युवकले पश्चिम बङ्गालको माल्दाका बासिन्दा भएको दाबी गरेका छन् । तर, दुवै जना बंगलादेशी रहेको सूचना प्रहरीलाई प्राप्त भएकाले यसबारे पनि अनुसन्धान भइरहेको छ ।

गोपालगञ्जका एसपी स्वर्ण प्रभातले अनुसन्धान एजेन्सीले जस्तोसुकै सहयोग मागे पनि प्रहरीले सहयोग गर्ने बताए । अप्रिल ६ मा गोपालगञ्जको कुचायकोट थानाको प्रहरीले युपी–बिहारको बलथरी चेकपोष्टमा एउटा कारबाट ८ हजार ७ सय ७४ सिमकार्ड र १० हजार नेपाली रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका युवकले प्रहरीले सोधपुछका क्रममा उक्त सिमकार्ड साइबर ठगीमा प्रयोग हुने गरेको बताए ।

प्रहरी अनुसन्धानमा केही सिमकार्ड एक्टिभेट र केही सादा सिमकार्ड रहेको खुलेको छ । प्रहरीले फेला पारेको मोबाइलमा लाखौं रुपैयाँको कारोबार भएको खुलासा भएको छ । यस गिरोहमा संलग्न अन्तर्राष्ट्रिय साइबर अपराधीलाई पक्राउ गर्न प्रहरी सक्रिय छ । तर, कति जना संलग्न छन् भन्ने खुलाइएको छैन । यति धेरै सिमकार्ड लिएर लोकसभा चुनावमा समस्या सिर्जना गर्ने षड्यन्त्र कसले गरिरहेको छ भन्ने प्रश्न उठेको छ । काठमाडौं, नेपालबाट नेटवर्क कसले सञ्चालन गर्दैछ? सुरक्षा निकाय र गोपालगञ्ज प्रहरीले यी सबै विषयमा गहिरो अनुसन्धान गरिरहेको छ ।