ढाका, २३ कात्तिक । राजनीतिक र आर्थिक संकटसँगै बंगलादेशले ‘स्वास्थ्य संकट’ पनि सामना गरिरहेको छ । यसको कारण डेंगु हो, लामखुट्टेबाट सर्ने रोग । बंगलादेशमा डेंगुको डंकले सयौंको ज्यान लिइसकेको छ । समाचरका अनुसार बिहीबार मात्रै राजधानी ढाकामा २४ घण्टाभित्र ७ जनाको मृत्यु भएको छ ।
गत अक्टोबरमा डेंगुका कारण १ सय ३४ जनाको ज्यान गएको थियो । योसँगै यो वर्ष मुलुकमा डेंगुका कारण मृत्यु हुनेको संख्या ३ सय ३७ पुगेको छ । गत वर्ष बंगलादेशमा डेंगुका कारण करिब एक हजार मानिसको ज्यान गएको तुलनामा यो संख्या कम भए पनि डेंगुका बढ्दो बिरामीले स्वास्थ्य अधिकारीको चिन्ता बढाएको छ ।
बंगलादेशमा नोभेम्बरको सुरुदेखि अहिलेसम्म ६५ हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् । गम्भीर अवस्थामा, शरीर भित्र वा नाक र मुखबाट रगत बग्ने सम्भावना हुन्छ । यसैबीच विश्व स्वास्थ्य संगठनले पनि बंगलादेशमा डेंगु तीव्र गतिमा फैलिरहेको भन्दै चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ यता विश्वभर डेंगुका बिरामी प्रत्येक वर्ष दोब्बर बढ्दै गएका छन्, जुन ठूलो चिन्ताको विषय हो । यस वर्षको पहिलो ८ महिनामा विश्वभर १ करोड २३ लाख डेंगुका बिरामी भेटिएका छन् भने करिब ८ हजार जनाको मृत्यु भएको छ ।
बंगलादेशको राजशाही सिटी कर्पोरेशनले निःशुल्क डेंगु परीक्षण उपलब्ध गराउने पहल गरेको छ, बिरामीहरूले शहरी अस्पताल र शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा निःशुल्क डेंगु परीक्षण गर्न सक्नेछन् । कतिपय अस्पतालका वार्डको अवस्था यस्तो छ कि एउटै बेडमा दुई–दुई बालबालिकाको उपचार गर्नुपर्ने अवस्था छ ।
ढाकाको शहीद सोहरावर्दी मेडिकल कलेजका फजलुल हक भन्छन्, ‘सामान्यतया यो सिजनमा डेंगुका बिरामी बढेको देख्छौं, तर पछिल्लो ३ हप्तामा डेंगुका बिरामी बढिरहेका छन् । अस्पतालकी डाक्टर सबिना तबस्सुमले गत महिनाको तुलनामा यो महिनामा बिरामी बढ्दै गएकाले एउटै बेडमा दुई बालबालिकाको उपचार गर्नुपर्ने बताइन् ।
Add Comment