सीयोल । दक्षिण कोरियामा एउटा विमान दुर्घटना भएको छ । समाचारका अनुसार विमानमा १८१ जना सवार थिए । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रमा आइतबार एउटा विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । जेजु एयरद्वारा सञ्चालित यात्रुवाहक विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको स्थानीय
अधिकारीहरूले बताएका छन् । मुआन फायर डिपार्टमेन्टका अधिकारीका अनुसार उनीहरूले २३ शव फेला पारेका छन् र तिनीहरूलाई अस्पताल लगेका छन् । “हामी थप हताहतीहरू पत्ता लगाउन प्रयास गरिरहेका छौं,“ उनले भने । विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । विमान धावनमार्गबाट चिप्लिएर विमानस्थलको बारमा ठोक्किएको थियो । जेजु एयरको उडान २२१६ बैंककबाट उडेको थियो । स्थानीय समय अनुसार विहान ९ बजे आपतकालीन सेवालाई विमान दुर्घटनाको खबर प्राप्त भएको थियो ।
कार्यवाहक राष्ट्रपति चोई साङ–मोक सोलको केन्द्रीय विपद् व्यवस्थापन मुख्यालयमा आइपुगेका छन् । उनले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धारका लागि ‘उपलब्ध सबै स्रोत परिचालन’ गर्न निर्देशन दिएका छन् । दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापकोका अनुसार चरको ठक्करबाट विमानको ल्यान्डिङ गियर प्रभावित भएको हुनसक्छ ।
योनहापको रिपोर्टका अनुसार ल्यान्डिङ गियर फेल भएपछि पाइलटले सिधै अवतरण गर्ने निर्णय गरेका थिए । आपत्कालीन अवतरणका क्रममा विमानको गति घटाउन नसक्दा धावनमार्गको छेउमा पुग्यो । अधिकारीहरुका अनुसार यो एयरपोर्टको छेउमा रहेको बारमा ठोक्किएर विमानमा आगो लागेको थियो । अधिकारीका अनुसार १७५ यात्रुमध्ये १७३ कोरियाली नागरिक २ थाई नागरिक सवार थिए ।
Add Comment