काठमाडौं — पछिल्ला केही वर्षयता विश्वभर पार्किन्सन रोग (Parkinson’s Disease) का बिरामीको संख्या बढ्दै गएको छ। यो मस्तिष्कसँग सम्बन्धित एक प्रगतिशील स्नायु (Neurological) रोग हो, जसले शरीरको चाल, सन्तुलन र मांसपेशीको नियन्त्रणमा असर पार्छ। रोग बढ्दै जाँदा दैनिक जीवनका सामान्य काम गर्न पनि कठिनाइ हुन सक्छ।
पार्किन्सन रोग किन हुन्छ ?
मानिसको मस्तिष्कमा रहेको डोपामिन (Dopamine) नामक रसायन उत्पादन गर्ने स्नायु कोषहरू बिस्तारै नष्ट हुँदै जाँदा पार्किन्सन रोग देखिन्छ। डोपामिनले शरीरको चाल र गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसको मात्रा घटेपछि शरीरको चाल ढिलो हुने, काँप्ने र शरीर जाम हुने समस्या सुरु हुन्छ। यसको ठ्याक्कै कारण अझै पत्ता लागेको छैन। तर बढ्दो उमेर, आनुवंशिक कारण तथा केही वातावरणीय जोखिम कारकलाई सम्भावित कारण मानिन्छ।
कुन उमेरका मानिसमा बढी देखिन्छ ?
पार्किन्सन रोग सामान्यतया ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिमा बढी देखिन्छ। तर पछिल्लो समय ४० देखि ५० वर्ष उमेर समूहका मानिसमा पनि यो रोग देखिन थालेको छ। दुर्लभ अवस्थामा ३० वर्षभन्दा कम उमेरका व्यक्तिमा पनि पार्किन्सन हुन सक्छ, जसलाई यङ-अनसेट पार्किन्सन (Young-onset Parkinson’s Disease) भनिन्छ।
मुख्य लक्षणहरू
- हात, खुट्टा वा शरीर काँप्ने
- शरीर कडा वा जाम हुने
- हिँड्न र चल्न ढिलो हुने
- सन्तुलन गुम्ने वा पटक–पटक लड्ने
- औषधिको प्रभाव सकिएपछि शरीर अचानक ‘फ्रिज’ हुने
- बोलाइ कमजोर हुने र लेखाइ सानो हुँदै जाने
- निद्रामा समस्या, कब्जियत तथा गन्ध थाहा नपाउने समस्या पनि देखिन सक्छ।
पार्किन्सन रोगका चरण
चिकित्सकहरूले पार्किन्सनलाई सामान्यतया ५ चरणमा विभाजन गरेका छन्।
पहिलो चरण: शरीरको एक भागमा हल्का लक्षण देखिने।
दोस्रो चरण: शरीरका दुवै भागमा लक्षण फैलिन थाल्ने।
तेस्रो चरण: सन्तुलनमा समस्या आउने तर दैनिक काम आफैं गर्न सक्ने।
चौथो चरण: हिँडडुल र दैनिक कामका लागि अरूको सहयोग आवश्यक पर्ने।
पाँचौँ चरण: बिरामी पूर्ण रूपमा अरूमा निर्भर हुने र हिँड्नसमेत नसक्ने अवस्था।
उपचार के हो ?
हालसम्म पार्किन्सन रोग पूर्ण रूपमा निको पार्ने उपचार पत्ता लागेको छैन। तर समयमै उपचार सुरु गरेमा रोगका लक्षणलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। उपचारमा लेभोडोपा (Levodopa) लगायतका औषधि, फिजियोथेरापी, नियमित व्यायाम, स्पिच थेरापी र आवश्यक परे डीप ब्रेन स्टिमुलेसन (Deep Brain Stimulation-DBS) जस्ता शल्यक्रियात्मक उपचार अपनाइन्छ। धेरै बिरामीले उचित उपचार र नियमित चिकित्सकीय निगरानीमा लामो समयसम्म सामान्य जीवन बिताउन सक्छन्।
सचेत रहन चिकित्सकको सुझाव
स्वास्थ्य विज्ञहरूका अनुसार हातखुट्टा काँप्ने, शरीर जाम हुने, हिँड्न गाह्रो हुने, सन्तुलन गुम्ने वा औषधिको असर सकिएपछि शरीर ‘फ्रिज’ हुने जस्ता लक्षण देखिएमा ढिला नगरी स्नायु रोग विशेषज्ञ (Neurologist)सँग परामर्श लिनुपर्छ। समयमै पहिचान र उपचार सुरु गर्न सके रोगको असर कम गर्न र जीवनको गुणस्तर सुधार्न मद्दत पुग्ने चिकित्सकहरूको भनाइ छ।








Add Comment