रामपुर, पाल्पा, १ चैत । नेपाल पत्रकार महासंघ, पाल्पाका कार्यसमिति सदस्य तथा रेडियो मुक्तिनाथमा कार्यरत पत्रकार चूरामणि न्यौपानेको निधन भएको छ । मुटुको बिरामी भएर काठमाडौँमा उपचारका क्रममा मंगलवार साँझ ३९ वर्षको उमेरमा उहाँको निधन भएको हो । न्यौपानेको पार्थिव शरीरलाई बुधबार राम्दीमा दाहसंस्कार गरियो । न्यौपानेको दुःखद् निधनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार शोकसभा गर्नुका साथै दिनभर कार्यालय बन्द गरी कामकाज स्थगित गरेको थियो ।
रेडियो मुक्तिनाथमा स्थापनाकालदेखि काम गर्दै आएका न्यौपाने प्रेस चौतारी नेपाल, पाल्पा शाखाका सहसचिव, प्रधानमन्त्री कृषि परियोजना जोन प्राविधिकसमेत रहनुभएको छ । सोमबार बिहान एक्कासि छाती तथा पेट दुखेर आत्तिएपछि बिहान १० बजे लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि उहाँलाई मनमोहन कार्डियोलोजी अस्पताल, काठमाडौँ लगिएको थियो । छ घण्टा लामो समय लगाएर शल्यक्रिया गरिएपनि मुटुभित्र फुटेका कारण न्यौपानेको ज्यान गएको हो ।
Add Comment