अन्तराष्ट्रिय

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, मारिनेमा पाँचजना पत्रकार

काबुल, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ । सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरुको पहिचान खुलेको छैन । सोमबार बिहान दुई जना आत्मघातीले उक्त विस्फोट गराएको बताइएको छ ।
मारिनेमा पाँचजना पत्रकार पनि परेका बताइएको छ । उनीहरुको पहिचान खुलेको छैन । तर एकजना भने फोटो पत्रकार रहेका छन् । सोमबार बिहानको उक्त आत्मघाती विस्फोट कसले र किन गराएको भन्ने बारेमा अझै खुलेको छैन । अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।
उक्त आक्रमण कसका लागि लक्षित थियो भन्ने बारेमा केही खुलेको छैन । तर पनि उक्त आक्रमणस्थल अफगानिस्तानको अर्धसैन्य बलको नजिक रहेकोले सोही कार्यालयलाई लक्ष गरिएको अनुमान प्रहरीको छ । सो क्षेत्र वरपर अरु पनि केही सरकारी कार्यालयहरु रहेका छन् । ती कार्यालहरुलाई पनि लक्ष गरिएको अनुमान गरिएको छ ।
प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीकाअनुसार अर्धसैन्य बलको नजिकै सो कार्यालय रहेकोले उनीहरुले उक्त कार्यालयमा रहेका अधिकारीलाई लक्ष गरेका थिए । तर मारिनेमा के कति जना सर्वसाधारण र उक्त बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन । -रासस/सिन्ह्वा