विविध

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६, बागेश्वरी मन्दिरस्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार राजविराजबाट सखडातर्फ जाँदै गरेको को.१ ख. ४६०७ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स.११ प. ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–२, रामपुर बस्ने अन्दाजी ५० वर्षीय भागवत प्रसाद शाह गम्भीर घाइते भएका थिए। उनको टाउको, अनुहार र काँधमा चोट लागेको थियो।

घाइते शाहलाई तत्काल उद्धार गरी छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको थियो।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा शाहलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक सुनसरीको इनरुवा नगरपालिका–५ बस्ने ४४ वर्षीय पर्शुराम भोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान भइरहेको जनाएको छ।