अन्तराष्ट्रिय

इजरायललाई अफ्रिकीआप्रवासी स्थानान्तरण योजना रद्द गर्न आग्रह

जेनेभा, स्वीट्जरल्याण्ड, २५ पुस । संयुक्त राष्ट्रसङ्घले हजारौँ अफ्रिकी आप्रवासीलाई बलपूर्वक इजरायलबाट बाहिर जान बाध्य पार्ने गरी ल्याइएको आप्रवासी स्थानान्तरण योजनालाई रद्द गर्न मङ्गलबार आग्रह गरेको छ । राष्ट्रसङ्घले उक्त योजनालाई ‘असङ्गत’ तथा ‘असुरक्षित’ भनी आलोचना गरेको छ । इजरायलद्वारा ल्याइएको उक्त योजना खासगरी अफ्रिकी मुलुकहरू इरिट्रीया र सुडानबाट यहाँ शरणार्थीका रूपमा इजरायलका विभिन्न स्थानमा आई बसोबास गर्दै आएका ३८ हजार अफ्रिकीलाई लक्षित गरी ल्याइएको राष्ट्रसङ्घको ठहर छ ।
यदि सन् २०१८ को मार्चसम्म इजरायल छोडेमा उनीहरूलाई तीन हजार ५०० अमेरिकी डलर र हवाई टिकट दिने योजना अघि सारेको छ । अन्यथा उनीहरूलाई पक्राउ गर्न सकिने चेतावनी इजरायलले दिएको छ । गत बर्ष पहिलो पटक सार्वजनिक गरिँदा उक्त योजनाको विश्वभरबाट व्यापक आलोचना भएको थियो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले गत हप्ता उक्त योजना लागू भएको घोषणा गर्नुभएको थियो । यससँगै संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)ले चासो व्यक्त गरेको हो ।
यूएनएचसिआरले आज जारी गरेको एक विज्ञप्तिमा भनेको छ, “इजरायललाई इरिट्रीयाली, सुडानीलगायतका अफ्रिकी सब साहारा क्षेत्रका आप्रवासी शरणार्थीलाई व्यवस्थापन गर्न ल्याइएको योजना रोक्न राष्ट्रसङ्घले पुनः आग्रह गर्दछ ।” यूएनएचसिआरका प्रवक्ता विलियम स्पिन्डलरले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, “कार्यक्रम ‘सङ्गतीपूर्ण नभएको’ र ‘यो पारदर्शी रूपमा कार्यान्वयन नगरिएको’ पाइएको छ ।” उहाँले इजरायलले आप्रबासीलाई कहाँ जाने विकल्प नदिएको तर इरिट्रीया र सुडान फर्किन खतरा रहेको जनाएको बताउनुभयो ।
स्पिन्डलरले समस्याको न्यायोचित समाधानसहितको समाधान दिन इजरायललाई आग्रह गर्दै आधिकारिक निकायमार्फत गरिने पारदर्शी योजनामा राष्ट्रसङ्घको सहयोग रहने उहाँको भनाइ थियो । -रासस/एएफपी