धर्म-संस्कृति

सांस्कृतिक महानगर: मालश्री ऋतु राग सुरु, प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा

काठमाडौँ, भाद्र २७ । माल श्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अमूर्त सम्पदाको सुक्ष्म विषयलाई उजागर गर्ने महानगरपालिकाको कार्यक्रमलाई माल श्री धुनको प्रस्तुतिले योगदान दिने बताईन ।

माल श्री धुन दशैँ लागेपछि मात्र बजाउने चलन जस्तो देखिएको छ । दाफा संगीतअन्तर्गत पर्ने यो धुन काया अष्टमीदेखि बजाउने परम्परा हो । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, छोडिँदै र चलनबाट बाटो विराउँदै गएका संस्कारलाई मौलिक अवस्थामा पुनःस्थापना प्रयासअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिईन ।

कार्यक्रममा जति तालको मालश्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको मालश्री धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित विविध धुन तथा रागहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत धुनमा खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायत मौलिक बाद्यबादन प्रयोग गरिएको थियो । कार्यक्रममा नेपाली भाषाका गीतका धुनहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रम स्वर्णिम योजना ‘सांस्कृतिक सहर’ अन्तर्गत सम्पन्न भएको हो । कार्यक्रमका फोकल पर्सन तथा सम्पदा तथा पर्यटन विभागका सहायक निर्देशक धर्म मुनिकारका अनुसार माल श्री धुन बजाउने चलन दाफा संगीतसँगै सुरु भएको मानिन्छ । यसमा मौसम, खेतीपातीलगायत जीवनशैलीसँग सम्बन्धित गायन पनि हुन्छ । माल श्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइन्छ ।